दिनभरी पेट्रोलको लाइनमा बसेर आफ्नो गाडीमा तेल भर्नु, खानेपानीका लागि घन्टौं समय कुर्नु आजकल अधिकांशको बाध्यता बन्दैछ । हामीसँग खनिज इन्धनको स्रोत छैन, त्यसैले आयातित इन्धनमा भर परिरहेका छौं । पेट्रोलियम पदार्थको आयातमा नेपालको खरबौं रकम बाहिरिरहेको सबैलाई थाहा छ । जसले गर्दा देश आर्थिक समृद्धिको बाटोमा हिड्न पनि सकिरहेको छैन र सवारी साधनको बढ्दो चापले गर्दा पेट्रोलियम पदार्थको माग पूरा गर्न आयल निगमलाई हम्मेहम्मे परिरहेको छ । बढ्दो जनसंख्या, योजना बिहिन शहरीकरण, उच्च गरीबी, असन्तुलित विकास र प्रदुषित वातावरण बिचको ज्वलन्त उदाहरण बन्दैछ नेपाल ।
हामीले प्राथमिकतामा राख्न नसकिरहेको विषय–हाम्रो वातावरण र यसमा भइरहेको प्रदुषणका बारे कुरा गर्नुपर्दा हावा, पानी, माटो सबै दुषित बन्दैछन् । अझ सडकमा कानै फुट्लाझैं गरि बज्ने अनावश्यक हर्नले पिडित नबनेका सायदै कोही होलान् । औद्योगिक विकासका नाममा बनाइएका विभिन्न उद्योग–कलकारखाना, इटाभट्टा र योजना बिहिन शहरीकरणसँगै व्यापक संख्यामा भित्रिएका सवारीसाधनहरुबाट निस्किने धुँवाले वायुमण्डललाई प्रदुषित बनाइरहेको छ । आर्थिक वर्ष २०६६÷६७ सम्ममा नेपालमा १०,१५,२७१ सवारी साधन दर्ता भइसकेका छन् भने बाग्मती अञ्चलमा मात्र हालसम्म लगभग ५ लाख ५० हजार भन्दा ज्यादा मोटरसाइकल दर्ता भएका छन् । धेरैजसो ठाउँमा राम्रोसँग पिच नगरिएका र भत्किएका सडकहरु भएकाले गाडीले फाल्ने धुँवा र सडकको धुलो मिसिएर वायुमण्डल झन् दुषित बन्दैछ । जसले गर्दा पटक पटक काठमाडौंले प्रदुषित शहरको तक्मा भिरिरहेको छ । काठमाडौंमा जताततै थुपारिने फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा त्यहाँबाट उत्सर्जन हुने ग्याँस, सवारीजन्य र औद्योगिक प्रदुषण आदिले उपत्यकाको वायुमण्डललाई असन्तुिलत बनाउन ठुलो भुमिका खेलिरहेको छ । धेरैले खासै ध्यान नदिएको तर अर्को गम्भीर विषय भनेको आन्दोलनका नाममा सडकमा बालिने टायर पनि हो । टायर बाल्दा निस्किने ग्याँसले मानिसलाई क्यान्सर सम्म हुन सक्छ । आफ्ना मागहरु पुरा गराउनका लागि गरिने यस्ता खाल्का आन्दोलनहरुले हाम्रो ब्यवाहार र वातावरण दुबैलाई दुषित बनाउदै छ । र मान्छे स्वयं पनि आफ्नो कुकृत्यको शिकार बनिरहेको हुन्छ ।
वायुप्रदुषण मात्रै होइन जल, माटो र ध्वनी प्रदुषणले पनि हामी अवाक् भइसकेका छौं । पानी हाम्रो लागि अत्यावश्यक चिज हो भन्ने कुरामा कुनै दुविधा छैन । पानी बिनाको संसार हामी कल्पना गर्न पनि सक्दैनौ । तर जनसंख्याको बढ्दो चाप, खाद्यान्नको बढ्दो माग र जलवायु परिवर्तन जस्ता कारणहरुले पानीको समस्या दिनप्रतिदिन बढ्दैछ । नेपालका धेरै ठाउँहरुमा पानीका श्रोतहरु सुक्दैछन् भन्ने समाचारहरु हामीले सुनिरहेका छौं । भुमिगत पानीको अत्याधिक प्रयोगले काठमाडौका ढुंगेधाराहरु सुक्दैछन्, संकृतिका धरोहर ति ढुङ्गे धाराहरु बेकामका बन्दैछन् । यतिमात्र होइन हाम्रो सभ्यताको शान बागमति आफैं ढलको रुपमा बगिरहेको छ । पानीका श्रोत वरपर फोहोर गर्न हुन्न भन्ने हाम्रो मान्यता र संस्कारलाई पाखा लगाएर सभ्य भनाउँदाहरुले सभ्यताको स्रोतलाई ढलमति बनाएर आफु सुकिला मुकिला बनि हिड्छन् । बागमति अहिले धेरैका लागि मागिखाने भाँडो बनेको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सन् २००१ देखि सन् २०११ सम्म काठमाडौको भूमिगत जलश्रोतको अध्ययन गर्दा ८२ प्रतिशत पानीमा सुक्ष्म जीवाणु भेटिएको तथ्यांक निकालेको छ । यो तथ्यांकबाट हामीले पिउने पानीको गुणस्तर सजिलै बुझ्न सकिन्छ छ । उद्योग, कलकारखानाबाट निस्किने फोहोर, कृषिजन्य फोहोर, अस्पतालजन्य फोहोर सबै अन्तत खोलामै मिसिरहेको छ । खाद्यान्न उत्पादन बढाउन प्रयोग गरिने विषादिले माटोको गुणस्तरलाई कस्तो बनाइरहेको होला ? के हामीले त्यतातिर सोचेका छौं ? विषादी प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्नले हाम्रो स्वास्थ्यमा के कस्ता समस्याहरु देखिदैछन् भनेर कहिले बिचार गरेका छौं ? स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रत्येक नागरिकलाई हुन्छ भने वातावरणलाई स्वच्छ राख्ने दायित्व पनि त प्रत्येक नागरिकमा हुनुपर्छ । नेपालमा झाडापखालाबाट वर्षेनी १३ हजार बालबालिकाको मृत्यु हुन्छ । खानेपानी र सरसफाईमा गरिने लगानीले के कति उपलब्धी भएको छ त ? यस्ता कुराहरु खोज्न पनि हामीले जाँगर देखाउनु जरुरी छ ।
बढ्दो प्रदुषण, वनविनास, जैविक विविधतामा ह्रास, जलवायु परिवर्तन जस्ता समस्याहरु विश्वमा नै प्रमुख वातावरणीय समस्या बनेका छन् । नेपालको सन्दर्भमा हेर्दा फोहोरमैलाको दिगो व्यवस्थापनमा ढिलाइ भइरहने हो भने रोगको महामारी नफैलिएला भन्न सकिन्न । हामीले दुर्गन्धित र प्रदुषित शहर पायौं किनकी बागमति प्रदुषित बनायौं । सडक अस्तव्यस्त भयो, जंगल मासियो । यी सबै क्षेत्रलाई सुधार्ने महत्वपुर्ण जिम्मेवारी अब हाम्रो पुस्तालाई छ । के हामी सक्षम छौं ?
सामान्यतया हामी युवाहरुको जमघट नेता, तिनका कार्यकर्ता र कर्मचारीलाई गाली गर्दैमा बित्छ । त्यसको साट्टो फरक धारबाट सोच्दा नेपालको विकासलाई प्रभाव पर्ने तत्व मध्ये एक तेलका लागि बाहिरीने पैसा हो । त्यो पैसा रोक्ने हो भने नेपालको ब्यापार घाटा त कम हुन्छ नै हामी स्वयं पनि हाम्रो विकासका लागि सक्षम हुन्छौं । नेपालमा खपत हुने तेलको अधिकांस हिस्सा बाग्मती अञ्चलमा र झन् पेट्रोल त अधिकांश ५ लाख मोटरसाइकलहरुले मात्र सक्छन् । दैनिक रुपमा ७५० एम.एल.का दरले तेल खर्च गर्दा पनि ५ लाख मोटर साइकलमा ३ लाख ७५ हजार लिटर भन्दा ज्यादा तेल खर्च हुन्छ । यदि हामीले विद्युतिय सवारी साधन अझ त्यसमा पनि विद्युतबाट चल्ने मेट्रो रेल संचालन गर्न सक्ने हो भने बल्ल नेपाल हरित अर्थतन्त्रको बाटोमा हिड्न सक्छ, तबमात्रै विकास हुनसक्छ । हप्तामा एक दिन मात्र साइकल चढ्ने हो भने पनि राज्यको केही हिस्सा रकम बचत हुन्छ । हामीले विश्वको नक्कल गर्न त सिक्यांै तर माटो सुहाउँदो बिकासका बारेमा ध्यान दिन सकेनौं। हामीले हरेक क्षेत्रमा आफ्नै देशभित्र सम्भावना खोज्न र सम्भावनालाई चिन्नसकेनौं । खनिज इन्धन आयात गरेर सवारीसाधन चलाउने हाम्रो देशले भोलि पृथ्वीमा खनिज इन्धन सकिए पछाडी के गर्छ ? अहिले नै पेट्रोलियम पदार्थको विकल्प नखोज्ने हो भने यी सवारीसाधन भोलि के ले चलाउने ? जलस्रोतमा धनी देश भनेर जति भाषण गरेपनि व्यवहारमा हामी अँध्यारोमा बसिरहेका छौं । विद्युत उत्पादनमा जोड नदिने हो भने अँध्यारोमा बसेर जति नै कराए पनि देश प्रगतितिर लम्किन सक्दैन।
साइकलको कुरा गर्दा काठमाडौको सडकमा साइकल यात्राको लागि सुरक्षित बाटो छैन, साइकल पार्किङ गर्ने ठाउँ छैन । पैदल यात्री र साइकल यात्रीको सुरक्षाको बारेमा राज्य लगभग मौन छ । सुरक्षाकै हिसाबले चाहेर पनि साइकल नचढ्ने जमात ठुलो छ। सरकार हाल २०६९।०७० को बजेट ल्याउने तयारीमा छ । यस समयमा सम्बन्धित निकायले ध्यान दिन सकेमा उपत्यकामा मात्रै होइन देशभरि नै साइकल लेन र साइकल स्टप बनाउने हो भने पनि केही हदसम्म सडक व्यवस्थित हुन्छ साथै वातावरण पनि जोगिन्छ । दिगोविकासका लागि हरित अर्थतन्त्र भनेपनि यो विषयमा खासै बहस हुन सकेको छैन । यसवर्षको वजेटले यसलाई सम्बोधन गर्न सक्ने विश्वास गर्न सकिने अवस्था पनि छैन । जनताको स्वास्थ्य र गरिवको रकम बचाउँने हो भने राज्यले वातावरणलाई स्वस्थ र स्वच्छ राख्ने खाल्का सशक्त कार्यक्रमहरु ल्याउनुपर्छ । यी कुरालाई बिचार गरेर जन स्तरबाट पनि आफसेआफ अभियान सञ्चालन गरेमा देशको अर्थतन्त्र जोगाउन सकिन्छ । स्वच्छ उर्जा प्रयोग गरेर र वन संरक्षण गरेर कार्बन संचित गरेबापत धनी देशहरुले हामी जस्ता अतिकम विकसित देशहरुलाई रकम पनि दिन्छन् । स्थानीय तहबाट हामीले चालेका साना कदमहरुले राष्ट्रिय, अन्तरराष्ट्रिय तहमा अरुलाई जिम्मेवार बन्न प्रेरणा दिनसक्छ । हामी वातावरण मैत्री, पर्यावरण मैत्री बन्दै हरित प्रविधि तिर लम्किन सक्यौं भने हामीबाट अरुले पनि सिक्नेछन् कि वातावरण हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको हो।
Luna Khatiwada
Published in Naya Patrika National Daily Newspaper
No comments:
Post a Comment