अन्नपुर्ण संरक्षण क्षेत्रभित्र अवस्थित अन्नपुर्ण बेस क्याम्पसम्मको पदयात्राका लागि हामी २०६९ असोज १४ गते विहान काठमाडौंबाट हिड्यौं । काठमाडौंबाट हिडेको दिन पोखरा बस्ने कार्यक्रम थियो । पोखरा बसाइलाई केही उपलब्धीमूलक बनाउने भनेर रुपाताल तिर हान्नियौं । जलवायु परिवर्तन ले पारेका असरहरु र ती असरहरुसंग जुध्न पर्यटकिय नगरी पोखराको रुपाताल वरिपरिका स्थानीयबासीहरुले के गरिरहेका छन् भन्ने कुराको सानो अध्ययन गर्नु हाम्रो उद्देश्य थियो । रुपातालमा भइरहेको प्रदुषणलाई कम गर्न २०५८ सालमा मत्स्यपालन सहकारी खोलेर काम शुरु गरेका स्थानीयहरुले अहिले तालमा व्यवसायिक रुपमा विभिन्न किसिमका माछा पालेका छन् । माछापालनसँगै एकातिर कमल फूल संरक्षण गरिएको छ भने अर्को तिर नाभो धान पनि संरक्षण गरिएको छ । तालको नजिकै रहेको सहकारीको कार्यालयमा रहेका केही व्यक्तिहरुसँग हामीले कुराकानी गर्यौं । उनीहरुले जलवायु परिवर्तनलाई केही बुझेका तर अनुकुलनका उपायहरुमा त्यति सचेत नभएको पाइयो । तर जैविक विविधता संरक्षणमा उनीहरुको योगदानलाई भने मान्नैपर्छ ।
भोलिपल्ट बिहानै हामी पोखराबाट नयाँपुलतिर लाग्यौं । अन्नपुर्ण संरक्षण क्षेत्रभित्र हाम्रो पदयात्रा शुरु हुदैथियो, सबैजना उत्सुक थिए, सबैलाई हतारो थियो किनकि प्राय सबै जसोको पहिलो पदयात्रा थियो । गाडीमा गीत गाउँदै, रमाइरहेका सबैजना नयाँपुलमा रोकिएर खाना खाने तरखरमा लाग्यौं । अब हाम्रो पैदल यात्रा शुरु हुने भयो, नयाँपुलबाट घान्द्रुक पुग्ने लक्ष्य थियो त्यो दिनको । विदेशी पर्यटकहरु, सबैका हातमा लौरो, तिनका भरियाहरु, गाइडहरु ओहो नयाँपुलका होटलवालाहरुलाई भ्याइ नभ्याइ थियो । हामी १४ जनाको टिम थियौं, हाम्रा भरिया थिएनन्, बाटो देखाउने गाइड थिएनन्, ती सबै हामी आफैं थियौं । हामीसँग आत्मविश्वास थियो , अन्नपुर्ण बेसक्याम्प पुगेर फर्किने । मध्य दिउँसो १२ बजेबाट हाम्रो पदयात्रा शुरु भयो । स्याउली बजार सम्म ग्रामिण सडक त्यसपछि किम्चि हुँदै उकालो सिंडी पार गरेर साँझ करिब २०२० मिटरको उचाइमा रहेको रमणिय गाउँ घान्द्रुक पुग्दा सबैजनाको अनुहारमा खुसीको चमक देखिन्थ्यो । आफ्नै विशेषता बोकेको घान्द्रुक पुग्ने रहर पोहोर साल अधुरो भएको थियो । यसपाली भने हामी पुगेरै छाड्यौं । गुरुङ्ग बस्ती रहेको घान्द्रुकमा त्यो साँझ खाना खाएर आराम गर्यौं । भोलिपल्ट बिहान उठ्नेबित्तिकै माछापुच्छ्रे हिमालको दृश्य देखेर मोहित भएका हामी त्यही दृश्य पछ्याउँदै अगाडि बढ्यौं । बाटोमा जुका धेरै थिए, साथीहरु जुका देख्नासाथ चिच्याउँथे । त्यो बेला म भने आफ्नो बाल्यकालमा आमासँग जंगल जाँदा जुकाले थाहै नपाइ टोकिसकेको कुराहरु सम्झेर मनमनै हाँसिरहेको हुन्थें । जे होस् जुका थेरापी भने मज्जाले नै भयो । बाटोमा जम्काभेट हुनासाथ नमस्ते भन्न नभुल्ने विदेशी पर्यटकहरु र तिनका भरियाहरुले बाटो खचाखच हुन्थ्यो । प्रायः विदेशी पर्यटकहरुको आवागमन बढि हुने समय नेपालीहरुलाई होटेल पाउन गारो हुने रहेछ । केही साथीहरु होटेलको बन्दोबस्त गर्न अगाडि जान्थे । घान्द्रुकबाट हिडेको दिन दिउँसो छोम्रोङ्ग मा खाना खाएर साँझ सिनुवामा बास बस्यौं । बाटोमा पानी पर्यो, हामीसँग वर्षादी थियो, कुहिरोले ढपक्क छोपेको गाउँ, छोम्रोङ्गबाट ओरालो झर्ने अनि खोला तरेपछि फेरी उकालो चढ्नुपर्ने, हामीलाई आफ्नो झोला निकै ठूलो भारी हुन थालेको थियो । झोला बोकेर, वर्षादी ओढेर, बाटोमा चिप्लिएर लड्दै हिड्नुको मजा नै बेग्लै थियो । सिनुवासम्म पुग्दा चिसो निकै बढिसकेको थियो । त्यही भएर होला सायद त्यहाँ पिएको चियाको याद अझै ताजै छ ।
सिनुवाबाट उकालो लागेपछि भने बस्तीहरु देखिन छाडे । तीन ÷चार घण्टाको फरकमा होटलहरु मात्र भेटिने । माथितिर धेरै चिसो छ, होटल पाउन गारो छ जस्ता समस्याहरु सुनाउँथे, माथिबाट फर्केकाहरु । तर हामीमा साहस थियो, त्यो भन्दा धेरै इच्छाशक्ति , हामी हतोत्साहित भएनौं । बेम्बो, दोभान र हिमालय भन्ने ठाउँहरु पार गरेर हामी देउराली पुग्यौं । बाटोमा ठाउँ ठाउँमा भेटिने पानीका धाराहरुले यात्रुहरुलाई धेरै सजिलो भएको छ । फोहोर फाल्ने बिनहरुले फोहोर व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ । सिनुवासम्म खच्चरमा सामान ओसारपसार गर्दारहेछन्, बाटो भरि खच्चरको दिशा गन्हाउँथ्यो । बाटो अप्ठ्यारो भएर होला त्यहाँ भन्दा माथि हामीले खच्चर देखेनौं । मानिसहरु डोकोमा ग्यासको सिलिन्डर बोकेर हिंडिरहेका भेटिन्थे । जति उकालो चढ्यो त्यति नै प्राकृतिक सौन्दर्यका अनुपम दृश्यहरुले मन आनन्दित हुन्थ्यो । दोभानबाट उकालो लागे देखि नै हामीले पहाड फोरेर कलकल बगेका झरनाहरु देख्यौं । साँझ हामी देउरालीको सांग्रिला होटेलमा बस्यौं । नजिकै मोदी खोला अविचलित बगिरहेको थियो । वरीपरी अग्ला अग्ला पहाड अनि पहाडका विचमा सुन्दर झरना । झरनाको पानी सबैभन्दा मिठो हुन्छ भन्ने सुनेकी थिएँ , त्यो बेला बीचमा पुल भइदिए, म दौडदै पारी गएर झरनाको पानी पिएर आउँथे भन्ने लागेको थियो ।
प्रकृतिमा भएका असिमित आनन्दका दृश्यहरु चुम्दै हामी उकालो जादैथियौं । होटलहरु पर्यटकले भरिभराउ थिए । बाध्यता थियो, हामी १४ जना एउटै कोठामा बस्यौं । बेलुका होटलका मालिकसँग फोहोरमैला व्यवस्थापनका बारेमा जिज्ञासा राखेँ। अन्नपुर्ण बेसक्याम्प देखिको फोहोर संकलन गरेर घान्द्रुक पुर्याउँदा रहेछन्, त्यहाँबाट पुनः प्रशोधन हुने फोहोर पोखरा पठाउँदा रहेछन् । अन्नपुर्ण संरक्षण क्षेत्र नेपालकै पहिलो र ठूलो संरक्षित क्षेत्र हो । संरक्षण क्षेत्रको आफ्नै नियम , कानुन हुन्छ । दाउरा बाल्न नपाइने भएकाले त्यहाँका होटेलहरुमा एल पि ग्यास प्रयोग गर्छन् । तर बनमा दाउरा त्यसै खेर गइरहेको देख्दा भने संरक्षण क्षेत्र जनमुखी छैन भनेर चर्चा भएका कुराहरु सम्झिएँ मैले । स्थानीय स्तरमै पानीको सदुपयोग गरेर विजुली बालेका छन् । दिनभरि बति बालिरहने, पानीका धाराहरु बन्द नगर्ने जस्ता दृश्यहरुले काठमाडौको लोडसेडिङ र पानीको समस्या सम्झेर दिक्क लाग्थ्यो । हामी संचारबाट टाढिएका थियौं। आफ्नै गृहजिल्ला इलाममा विध्वंस पहिरो गएको खबर पनि मैले दुइ दिन पछि मात्र थाहा पाएको थिएँ ।
देउरालीबाट लगभग ३ घण्टा कस्सिएर हिड्ने हो भने अन्नपुर्ण बेसक्याम्प पुगिन्छ । सबै थकानहरु बिर्सेर फेरी हामी उकालो लाग्यौं । लेक लाग्लाकि भन्ने डर थियो मनमा। हामीले हिड्ने बेला सबैजनालाई ल्वाङ्ग, सुकमेल, लसुन बाड्यौं । नजिकै बगिरहेको मोदी खोलाबाट आएको चिसो हावाको झाेंक्का, चुच्चा पहाडहरु, बाटो छेउछाउ फुलेका रंगिचंगि फूलहरु ,त्यो मनमोहक दृश्यलाई शव्दमा उतार्ने शव्द भण्डार छैन मसँग ।
३७०० मिटर उचाइमा माछापुच्छ«े बेसक्याम्प रहेछ । पारी पट्टि माछापुच्छ«े हिमाल आफ्नो सुन्दरता प्रकट गरेर मुस्कुराइरहे झैं लाग्छ , अनि म जस्ता धेरैलाई पश्चाताप बोध हुन्छ, माछापुच्छ«े हिमालको सामिप्यमा गएर एकचोटि छुने रहर अधुरो रहेकोमा । माछापुच्छ«े बेसक्याम्पबाट हिमालयन थार पनि देखिन्छ रे तर हामीले भने देख्न पाएनौं । केही अगाडि बढेपछि करिब ४१०० मिटरमा रहेको अन्नपुर्ण बेसक्याम्प पुग्यौं । वारीपारी जता हेरे पनि हिमाल देखिने, मन त्यसै फुरुङ्ग भयो, शरीरमा यस्तो स्फूर्ती आयो कि अब ४८०० मिटर पार गर्न पाए त सगरमाथाको चुचुरो नै पुगिन्छ । हाम्रा हिमालहरु नजिकबाट हेर्न पाउँदा, हिउँ पग्लिएर पानी बगेको देख्दा हिमालहरु एसिया क्षेत्रका निम्ति कति महत्वपुर्ण छ भन्ने कुराको बोध भयो । सँगसंगै जलवायु परिवर्तनका कारण हिमाल पग्लदैछन् भन्ने तथ्यले कता कता मनमा नमिठो आभास भयो । विदेशी पर्यटकलाई सोध्यौं किन आउनुहुन्छ यहाँसम्म, यति दुख गरेर ? उनीहरु भन्थे यति राम्रो, मनमोहक ठाउँ, यति उचाइ, यस्तो विविधता हाम्रो देशमा छैन । साँच्चै गर्व लाग्दो रहेछ त्यो बेला नेपाली हुँ भन्नलाई । विदेशी पर्यटकहरु बिरामी भए, लडेर घाइते भए भने उनीहरुको उद्धार तुरुन्तै हुन्छ, तर हामी बिरामी भयौं भने ? हाम्रो उद्धार हुन कठिन छ किन कि हामी नेपालीको त जिवन विमा नै छैन ।
अन्नपुर्ण बेस क्याम्प पुग्ने हाम्रो लक्ष्य पुरा भयो अब हामी फर्कने तयारीमा लाग्यौं । बाटोमा स्थानीयलाई सोधें यो कुन गाविस हो ? अन्नपुर्ण बेस क्याम्प सम्म घान्द्रुक गाविसले समेट्छ भन्ने थाहा पाउँदा एकछिन अचम्म लाग्यो कति ठूलो गाविस ? माथि तिर देखिएका रमणिय ठाउँ र दृश्यहरु छोडेर हामी फर्कियौं । बाटोमा सोचें , हामी घुम्न आउनेका लागि यो ठाउँ यति रमाइलो लाग्छ तर यहीँ जीवन बिताउनेहरुका लागि कम कष्टप्रद छैन । उच्च पहाडी र हिमाली भेगका मानिसहरुको जिवन एकदम कठिन छ । बर्ष भरि दुख गरेपनि खान पुग्दैन । त्यही भएर स्थानीयबासीहरु परम्परागत कृषि पेशा भन्दा पनि होटेल व्यवसाय तिर आकर्षित छन् । पर्यटन प्रवद्र्धन उचित ढंगले गर्न सके अन्नपुर्ण संरक्षण क्षेत्रबाट राज्यले पनि धेरै फाइदा लिन सक्छ । संरक्षण विना पर्यटन दिगो हुदैन त्यसैले यसको व्यवस्थापन र संरक्षण पक्षमा ध्यान दिदै विकासका खाका तयार गर्नुपर्छ भन्ने लाग्यो ।
No comments:
Post a Comment