मान्छेको सुख
लुना खतिवडा
झुपडीमा दुख अनि महलमा सुख देख्छ मान्छे
गाउँका खेतबारी बाँझो छोडेर शहरका जग्गामा आँखा गाड्छ मान्छे ।
खोलाका बालुवा, ढुंगा, गिट्टि सखाप पारेर आफनो महल ठड्याउँछ
पहाडका भित्ताहरु फोरेर विकासका नाममा विनाश निम्त्याउँछ मान्छे ।।
प्रत्येक पल सास फेर्न अक्सिजन दिने रुखहरु ढालेर
धनी बन्ने सपना देख्छ मान्छे ।।
धन दौलत, सुन चाँदी, हिरामोतीमा खुसी खोज्छ
धनसम्पति र पदको लालचमा जस्तोसुकै कृत्य गर्न तयार छ
कहिल्यै तृKत्त हुन नसक्ने भौतिक
कुरामा सधैंै प्यासी बन्छ मान्छे ।।
सम्पतिले खुशी मिल्ने भए,
पैसाकै सिरानी लाउनेहरु नि किन दुखी छन्
यहाँ <<
प्रकृति विनाश गरी ठड्याएका महलमा पनि किन रोइरहेछ मान्छे <<
आकाशमा हेर,
उडिरहेका बादल,
उडिरहेका चरा,
कति निष्फिक्री उडेका छन्
तिनलाई खुसी हुन कुनै महल चाहिएको छैन ।
आफू भित्रै भएको खुसी चिन्न नसकेर
आफूसँगै भएको सुख थाहा नपाएर
सुखको खोजीमा अन्धाधुन्द भौंतारिने ए मान्छे !!
अब त आफूलाई चिन
प्रकृतिलाई माया गर्न सिक
आज र भोलि मात्र सोच्ने ए मान्छे !!
तिम्रा सन्ततिको भविष्य पनि यही पृथ्वीमै हो
नत्र प्रकृतिले बेला बेला चेतावनी दिइरहनेछ ।
यति मात्र त सहला मान्छेले
तर,
प्रकृतिले भयानक रुप लिदा
तिम्रो अस्तीत्व समाप्त हुन लाग्दा
तिम्रो लोभ लालचले तिमीलाई बचाउने छैन
त्यतिबेला
के गर्छौ मान्छे <<