गर्मीको समयमा लामखुट्टेले प्राय जसो सबैलाई सताइरहेको हुन्छ । तापमानको वृद्धिसँगै पहाडी जिल्लाहरुमा पनि लामखुट्टे बढिरहेको छ । लामखुट्टे थुप्रै प्रजातीका हुन्छन् । डेंगु, मलेरिया, जापानिज इन्सेफलाइटिस, जिका जस्ता धेरै रोगहरु लामखुट्टेको टोकाइका कारण सर्ने गर्दछन् । यहाँ चर्चा गरौं डेंगु ज्वरोको ।
सन् २००४ मा पहिलोपटक नेपालमा देखिएको डेंगु रोगले हालसम्म आइपुग्दा धेरै व्यक्तिहरु संक्रमित भइसकेका छन् र केही व्यक्तिहरुको मृत्यु समेत भएको छ । उष्ण क्षेत्रमा पाइने एडिज एजेप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । बाघको शरीर जस्तै कालो सेतो धर्का भएको एडिज एल्बोपिक्टस लामखुट्टेलाई एसियन टाइगर पनि भनिन्छ । यी दुबै प्रजातिका लामखुट्टे नेपालमा पाइन्छ । डेंगु संक्रमित व्यक्तिलाई टोकेर आफ्नो शरीरमा डेंगु भाइरस बोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने डेंगु सर्दछ । बिशेष गरेर शहर बिकास हुदै गरेको क्षेत्र जहाँ पर्याप्त पूर्वाधारहरु हुदैन, ढल व्यवस्थापन राम्रो
हुदैन ती स्थानहरु बढी जोखिममा हुन्छन् ।
दिउँसो मात्र टोक्ने यो लामखुट्टे प्राय सफा पानीमा बस्छ । फुलको गमला, सात आठ दिनसम्म नचलाई राखिएको पानी, एसीको पानी आदिमा अण्डा पार्न सक्छ । एक अध्ययन अनुसार गाडीको टायर धेरै भएको ठाउँमा,
फालेका प्लाष्टिक जहाँ पानी जमेको हुन्छ त्यस्तो ठाउँमा यी लामखुट्टले फूल पार्छन् । झापा, चितवन, नवलपरासी लगायतका जिल्लाहरुमा यो रोगको प्रकोप देखिएको छ । जलवायु परिवर्तनका कारण हावापानीमा आएको परिवर्तन र तापक्रम वृद्धिले गर्दा केही पहाडी जिल्लाहरुमा पनि
यो लामखुट्टे वृद्धि हुदैछ ।
लक्षणहरु
संक्रमित लामखुट्टेले टोकेको लगभग तीन देखि दश दिनमा लक्षणहरु देखिन्छन् ।
१) अत्याधिक ज्वरो आउने
२) अत्याधिक टाउको दुख्ने
३) मांशपेशी र जोर्नी दुख्ने
४) आँखा वरीपरी दुख्ने
५) बान्ता हुने
६) छालामा एलर्जी
७)आन्तरिक रक्तश्राव हुने
८) शरीरका आन्तरिक अंगहरुले काम गर्न नसक्ने र मृत्यु हुने
बच्ने उपायहरु
नेपालमा डेंगु ज्वरो नयाँ रोग भएकाले अनुसन्धान व्यापक रुपमा हुनसकेको छैन । भइरहेका अध्ययन अनुसन्धान पर्याप्त नहुन सक्छ । यो रोगको उपचार सबै अस्पतालहरुमा उपलब्ध छैन । रगत परिक्षण र उपचार सबै जिल्लामा पुर्याउनु पनि चुनौती नै छ होला । अहिले सम्म डेंगु ज्वरोको खोप नेपालमा उपलब्ध छैन । रोग लागेर समयमा उपचार नपाएर पिडामा बाँच्नु भन्दा केही उपायहरु अवलम्बन गरे केही हदसम्म जोखिम कम गर्न सकिन्छ ।
१) घर वरीपरी पानी जम्न नदिने । जस्तैः फुलको गमला, प्रयोग भएर फालेको टायर, पुराना बट्टा तथा प्लाष्टिकहरु, खाल्डो भएको ठाउँ आदि ।
२) गर्मीको समयमा हल्का तर पुरा शरीर ढाक्ने कपडा लगाउने (विशेष गरि बच्चाहरुलाई ) ।
३) सुत्दा सधैं झूल प्रयोग गर्ने ।
४) लामखुट्टे विकर्षण गर्ने मल्हम, क्रिमहरुको प्रयोग गर्ने ।
५) खानपानमा बिशेष ध्यान पुर्याउने किनकि स्वस्थ र स्वच्छ खानपान गर्ने ब्यक्तिको रोगप्रतिरोधात्मक क्षमता बढि हुन्छ जसले गर्दा हतपत रोगले आक्रमण गर्दैन ।
६) जनचेतना अभिवृद्धि एक महत्वपूर्ण पक्ष हो । संचार माध्यमले गर्ने सचेतनामूलक कार्यक्रम र विज्ञापनहरुले
आम मानिसलाई कतिको प्रभाव पारेको छ भन्ने विश्लेषण हुनुपर्छ ।
७) सरकारले डेंगु ज्वरो नियन्त्रणको दिर्घकालीन कार्यबिधि तयार गरि दक्ष जनशक्ति परिचालन गर्ने ।
प्रस्तुती : लुना खतिवडा