दमक नगरपालिका कार्यालयबाट लगभग १० मिनेट टाढा जहा हाम्रो बसोबास छ । नगरपालिकाको गाडी कहिले हप्तामा एक पटक त कहिले २ पटक अनियमित रुपमा फोहोर संकलन गर्न आउँछ । तर हामी बसेको पछाडीको बस्तीमा नगरपालिकाको कुनै गाडी फोहोर उठाउन जादैन , किन जादैन त्यो त थाहा भएन सायद पर्याप्त जनशक्ति नभएर होला । अब कुरा आयो त्यहाँको फोहोर कस्ले कसरी व्यवस्थापन गर्छ भन्ने । म बाबुलाई स्कूल लिएर जाँदा प्राय जसो घरको बाहिर, खालि जमिनमा घरायसी फोहोर ( जहाँ खालि सिसि, स्याम्पुका बट्टा, औषधिका बट्टा, प्लाष्टिकहरु पनि देखिन्छन् ) जलिरहेको हुन्छ भने बिजुलीको पोल मुनि पेय पदार्थका बोतलहरु फ्याँकिएका हुन्छन् । बाक्लो वस्ती र नजिकै स्कूल भएको यो ठाउँमा यसरी जल्ने फोहोरले के कति असर गरेको होला भनेर कहिलेकाहिँ सोच्छु ।
यो त एउटा उदाहरण मात्र हो, नेपालका धेरैजसो शहर उन्मुख र ग्रामिण क्षेत्रको अवस्था पनि यस्तै हो । पूर्व देखि पश्चिम सम्म कामको शिलशिलामा जति ठाउँ पुगेँ, सायद डोटिको सदरमुकाम होस् या त पाँचथरको यस्ता दृश्य देखेकै छु । हरित नगर इलाम जिल्लाको पनि धेरै क्षेत्रहरु यस्तै छन् । म सोच्न बाध्य छु, मैले बाँचिरहेको यो समय र मेरो छोराले आफ्नो उर्जाशिल जिवन बिताउने समयको पृथ्वीमा के फरक पर्ला ?
तत्कालको सजिलोका लागि जथाभावी रुपमा जलाइने फोहोरले हाम्रो स्वास्थ्य र वातावरणमा पर्ने दिर्घकालीन असरका बारेमा हामी अनविज्ञ छौं । अत्याधिक मात्रामा जलाइने प्लाष्टिक जन्य फोहोरबाट निस्किने घातक रसायन (डाइअक्सिन)ले हामी र हाम्रा सन्तानको जीवन जोखिममा पर्दैछ भन्ने कुराको ज्ञात हामीमा हुनु जरुरी भइसकेको छ ।
नेपालको समस्या भनेकै फोहोरको उचित व्यवस्थापन नहुनु हो । राजधानी जस्तो ठाउँमा त फोहोरको दिर्घकालीन व्यवस्थापन हुन सकेको छैन, फोहोरको व्यवस्थापनका लागि दिगो योजना सहितको ल्याण्डफिल साइट पनि बनाउन सकेको छैन सरकारले । नेपालका धेरै ठाउँहरुमा खोलाको किनार फोहोर फ्याक्ने ठाउँ बनेको छ । कुनै पर्याप्त पूर्वाधार बिना बनाइएका नगरपालिकाहरुमा फोहोरमैला व्यवस्थापनको अवस्था दयनिय नै छ भन्दा फरक नपर्ला ।
एकातिर सरकारी निकाय आवश्यक जनशक्तिको अभाव छ भनेर पन्छिन्छ, अर्कोतिर हामी जनता घर भित्र सफा पारेर आफ्नै आँगनमा फोहोर जलाउँछौं, पानीको स्रोत आसपास लगेर फोहोर फाल्छौं । आफूले गरेको फोहोर तह लगाउन नसक्ने हामी सभ्य नागरिक हौं त ?
यो लेखमा मैले केबल घरायसी फोहोरको मात्र कुरा गर्दैछु । अझ हस्पिटल, उद्मोग, कलकारखाना आदिबाट निस्किने फोहोर व्यवस्थापनको अवस्था कति गम्भिर होला एकपटक सोच्नुस् त ! घरभित्रै कुहिने र नकुहिने फोहोर छुट्याउन अल्छि गर्ने हामी अरुलाई अर्ति दिन भने खप्पिस छौं । कम्पोष्ट मल बनाएर हाम्रो सानो करेसाबारीमा सागसब्जी फलाएर खांदा कति राम्रो हुदो हो । प्लाष्टिकका सामानहरु भरसक प्रयोग नगर्ने अथवा सकेसम्म कम प्रयोग गर्ने आदत बसाल्न सके कति सुन्दर हुनेथियो । यसरी हामीले हेर्दा सामान्य लाग्ने हाम्रा आचरणहरुमा सुधार ल्याउन सक्यौं भने हाम्रो घर वरपर पनि सुन्दर, सफा देखिन्छ । पृथ्वी हाम्रो घर हो त्यसैले हाम्रो घर सफा राखौं । चेतना भया ।
लुना खतिवडा