विकास र वातावरण एकअर्काका परिपुरक हुन् भन्ने कुराको पर्याप्त ज्ञान नहुँदा केही समय अगाडी सम्म पनि वातावरण लाई विकास भन्दा पर राखेर विश्लेषण गरिन्थ्यो । तर आजको अवस्था बदलिएको छ, विकाससँगै वातावरणका सवालहरु पनि आउन थालेका छन् । सन् १९५० को औद्योगिक क्रान्ति पश्चात विकसित देशहरुमा आर्थिक विकासले राम्रैसँग गति लियोे । विकासका चरम क्रियाकलापहरुसँगै वातावरणमा क्रमशः दुष्प्रभावहरु देखिन थाले । वातावरण विनाश विश्व भरि नै चासो र चिन्ताको विषय बन्यो । वातावरण र दिगो विकासका लागि विश्वव्यापी प्रयासहरु हुन थाले । वातावरणको बढ्दो विनाशलाई कम गर्न तथा मानव स्वास्थ्यमा परेको नकारात्मक प्रभाव न्यून गर्न थुप्रै अन्तरराष्ट्रिय सम्मेलनहरु सम्पन्न भए । सन् १९९२मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न भएको पृथ्वी सम्मेलनले दिगो विकासमा जोड दिदै विश्वको ध्यान दिगो विकास तिर केन्द्रित गर्न सफल भयो । सरल भाषामा भन्नुपर्दा दिगो विकास भनेको भावी पुस्ताको बाँच्ने आधारलाई खलल नपु्रयाइ वर्तमानका आवश्यकताहरु पुरा गर्नु हो ।
वातावरण र दिगो विकासका लागि अन्तरराष्ट्रिय रुपमा भएका केही चर्चित पहलकदमीहरु
सन् १९७२ मा स्वीडेनको स्टकहोममा वातावरण र मानव विषयको संयुक्त राष्ट्र संघिय अन्तरराष्ट्रिय सम्मेलन
१९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा पृथ्वी सम्मेलन
२००२ मा दिगो विकासको विश्व शिखर सम्मेलन
२०१२ मा व्राजिलको रियो द जेनेरियोमा रियो प्लस २० अथवा पृथ्वी सम्मेलन
औद्योगिकरणकै कारण वायु, जल, जमिन प्रदुषित हुन थाल्यो । विकसित देशहरुमा भएको विकासका आयामहरुले विकासोन्मुख, अल्पविकसित देशहरुमा नकारात्मक असर परिरहेको छ । ओजोन तहको क्षयीकरण र हरित गृह ग्यास उत्सर्जन बढ्दै गएकाले मानिस र समग्र पृथ्वीको अस्तित्व नै संकटमा पर्न थालेका उदाहरणहरु प्रशस्त भेटिन थालेका छन् । विकास र वातावरणलाई सन्तुलित रुपमा अघि बढाउनु आजको विश्वको आवश्यकता हो ।
वातावरण भन्नासाथ जल, जमिन, वायु, ऊर्जा र आकाशलाई भुल्नुहुदैन । यी नै पञ्चतत्वको सन्तुलनमा पृथ्वीको अस्तित्व जीवन्त भएको छ र पृथ्वीमा जीवन सम्भव भएको छ । प्रकृति हामी सबैको साझा बासस्थान भएकाले प्रकृतिसँग मानिसको अत्यन्त निकट सम्बन्ध रहेको हुन्छ । तर विकास सँगसँगै वातावरणीय चुनौतीहरु विश्वभरी प्रमुख समस्याका रुपमा देखिएका छन् । विकसित देशहरुको तुलनामा गरीब देशहरुमा वातावरणसँग जोडिएका समस्याहरु विकराल रुपमा रहेका छन् । बन फडानी तथा बन क्षयीकरण, जैविक विविधतामा ह्रास, जलवायु परिवर्तन, प्रदुषण, पिउने पानीको अभाव जस्ता समस्याहरुबाट गरिब देशहरु ग्रसित छन् ।
विकासका नयाँ आयाम सँगै वातावरणमा डरलाग्दा समस्याहरु देखिन थालेका छन् जसमध्ये जलवायु परिवर्तन आजको विश्वमा अत्यन्त चासो र चिन्ताको विषय बनेको छ । सन् १९७० को दशकबाट पृथ्वी तातो हुदैछ भन्ने कुरा उठ्न थाल्यो र वैज्ञानिक समुदायबीच छलफल र बहसको विषय बन्यो । जलवायु परिवर्तन सम्बन्धि अन्तरसरकारी मन्च (आइ.पि.सि.सि) ले जलवायु परिवर्तन भइरहेको तथ्य पुष्टि गरिसकेको छ । मानवीय क्रियाकलापकै कारण उत्सर्जित हरित गृह ग्यासले पृथ्वीको तापक्रम बढाइरहेको छ र विश्वउष्णीकरण जलवायु परिवर्तनको कारक बनेको छ । जलवायु परिवर्तनमा मुख्य भूमिका रहेका हरित गृह ग्यासहरुमा कार्बनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड लगायतका सातवटा ग्यासहरु छन् ।
हरित गृह ग्यास विना पृथ्वीको तापक्रम माइनस १८ डिग्रि सेल्सियस पुग्छ , जहाँ हामी जीवनको कल्पना गर्न सक्दैनौं । पृथ्वीको तापक्रमलाई १५ डिग्रि सेल्सियसमा सन्तुलन राख्ने हरित गृह ग्यासको मात्रा बढ्दो शहरीकरण, बन विनाश, औद्योगीकरण आदिका कारण बढ्दै गइरहेको छ । हरित गृह ग्यास उत्सर्जन गर्नमा विकसित देशहरुको भुमिका धेरै भएपनि जलवायु परिवर्तनको असर गरिब तथा अविकसित देशहरुले भोगिरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा नगन्य मात्रामा (०.०२७ प्रतिशत ) हरित गृह ग्यास उत्सर्जन गरेपनि जलवायु परिवर्तनको कारण नेपालले उच्च जोखिम खेपिरहेको छ । हिमाली देश भएकाले पनि हामी बढी जोखिममा छौं ।
भौगोलिक रुपले सानो भएपनि ११८ वटा पारिस्थीतिक प्रणाली ९भ्अयकथकतझ० रहेको नेपाल जैविक विविधताले सम्पन्न देशहरुको सूचीमा विश्वको २५औँ स्थानमा र एसियाको ११औं स्थानमा छ । समुद्री सतहबाट ६० मिटर देखि लिएर सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.) सम्म फैलिएको भुगोल नै जैविक विविधताका निम्ति पर्याप्त छ । नेपालमा ठुलासाना गरेर ६००० जति खोलाहरु छन् । त्यसै गरि लगभग २९ प्रतिशत बन क्षेत्र , १०.६ प्रतिशत झाडी तथा बुट्यान र १७.८ प्रतिशत घाँसेमैदान तथा अन्य जग्गाले ढाकेको छ । एक हजार छ सय भन्दा बढि जडिबुटिका प्रजातिहरु, २.७६ प्रतिशत फूल फुल्ने प्रजातिहरु , ३.९६ प्रतिशत स्तनधारी जीवजन्तु तथा ८.९ प्रतिशत चराचुरुङ्गीहरुको बासस्थान हो ।
नेपाल जैविक विविधता रणनीति–२००२ ले नेपालको पारिस्थितिक प्रणालीलाई पाँच भागमा छुट्याएको छ जसमा वनक्षेत्र, चरण क्षेत्र, सिमसार क्षेत्र, पर्वत र कृषिमा आधारित पारिस्थितिक प्रणाली पर्दछन् । वैज्ञानिकहरुका अनुसार यी मध्ये सबैभन्दा उत्पादनशील क्षेत्र भनेर सिमसार क्षेत्रलाई चिनिन्छ । सिमसार क्षेत्रले नेपालको ५ प्रतिशत क्षेत्र ओगटेको छ । नेपालका सिमसारहरुमध्ये अहिलेसम्म कोशीटप्पु, बिस हजारी ताल, घोडाघोडी ताल, गोसाइकुण्ड, गोक्यो ताल, रारा ताल, जगदिसपुर ताल, फोक्सुण्डो र माइपोखरी गरि जम्मा ९ वटा रामसार सुचीमा सुचीकृत भइसकेका छन् । जम्मा ३४२ जातका स्थानीय वनस्पति प्रजातीहरुको बासस्थान रहेको नेपालमा औषधिय गुण भएका वनस्पतिहरु र गैरकाष्ठ वन पैदावारहरु पनि प्रचुरमात्रामा पाइन्छन् । यसै गरि नेपालमा संरक्षित क्षेत्रले हालसम्म २३.२३ प्रतिशत भू भाग ओगटेको छ । जसमा १० वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, ३ वटा वन्यजन्तु आरक्ष र एउटा शिकार आरक्ष छन् । प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्दै विकासका खाका तयार गर्ने र कार्यान्वयन गर्ने हो भने मात्र पनि नेपाल समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।
विश्वमा बढ्दै गएको वनविनाश, प्राकृतिक स्रोतको अत्याधिक र अबैज्ञानिक दोहन, मरुभूमीकरण, अव्यवस्थित शहरीकरण र यसबाट मानव, जीवजन्तु र वनस्पतिमा अथवा समग्र पारिस्थितिक प्रणालीमा पर्न गएको नकारात्मक प्रभावले मानव सभ्यताको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा भएको छ । मानवीय क्रियाकलापका कारण वातावरणमाथि परिरहेको नकारात्मक प्रभावलाई न्युनीकरण गर्न जनस्तरबाटै जनचेतनाको विकास गर्नुपर्छ । सबैलाई वातावरण संरक्षण र सम्वद्र्धन प्रति जिम्मेवार बन्न र संरक्षणको भावना जागृत गराउन प्रेरित गर्नु आजको महत्वपुर्ण आवश्यकता हो ।
जव हामी वातावरण संरक्षण र दिगो व्यवस्थापनको कुरा गर्छौं, हामी आफू वातावरण प्रति कति सचेत छौं, त्यसलाई बुझ्न सक्नुपर्छ । हाम्रो आचरण, हाम्रो प्रवृति र हाम्रो व्यवहारमा सुधार नहुने हो भने हामीमा भएको चेतनाको केही महत्व हुन्न । वातावरणको संरक्षण, संवद्र्धन र दिगो सदुपयोग विना अबको विकास दिगो हुन सक्दैन । त्यसैले आजैदेखि वातावरण प्रति सचेत बनौं, दिगो विकासको पथमा हिडौं र अरुलाई पनि प्रेरित गरौं । हाम्रा भावी पिंढीलाई सुन्दर र हरियाली पृथ्वी हस्तान्तरण गरौं ।