Monday, November 18, 2013

जैविक विविधतामा मिचाहा प्रजातिको बढ्दो प्रभाव

नेपाल भौगोलिक रुपले सानो मुलुक भएपनि जैविक विविधताले विश्वमा चिनिएको देश हो । समुद्री सतहबाट ६० मिटर उचाई देखि विश्वकै अग्लो चुचुरो सगरमाथासम्मको फैलावट नै जैविक विविधताको सम्पन्नताको लागि पर्याप्त छ । ११८ वटा पारिस्थीतिक प्रणाली रहेको नेपाल जैविक विविधताले सम्पन्न देशहरुको सूचीमा  विश्वको २५औँ स्थानमा छ।  नेपाल जैविक विविधता रणनीति–२००२ ले नेपालको पारिस्थितिक प्रणालीलाई पाँच भागमा छुट्याएको छ जसमा वनक्षेत्र, चरण क्षेत्र, सिमसार क्षेत्र, पर्वत र कृषिमा आधारित पारिस्थितिक प्रणाली   पर्दछन् ।  वैज्ञानिकहरुका अनुसार यी मध्ये सबैभन्दा उत्पादनशील क्षेत्र भनेर सिमसार क्षेत्रलाई चिनिन्छ । सन् १९९९ मा वन विभागले गरेको अध्ययन अनुसार वनक्षेत्रले नेपालको कूल जमिनको ३९.६ प्रतिशत क्षेत्र ढाकेको छ र वनफडानी दर १.७ प्रतिशत छ । यद्यपी यो तथ्यांकमा अहिलेसम्म आइपुग्दा केही फरक परेको हुनसक्छ । जम्मा ३४२ जातका स्थानीय  वनस्पति प्रजातीहरुको बासस्थान रहेको नेपालमा औषधिय गुण भएका वनस्पतिहरु र गैरकाष्ठ वन पैदावार  हरु पनि प्रचुरमात्रामा पाइन्छन् । तर पछिल्लो समयमा मानवीय चाप, जलवायू परिवर्तन जस्ता समस्याहरुले समग्र जैविक विविधतामा ठूलो असर पारिरहेको छ । 
यी त भए जैविक विविधता र प्राकृतिक स्रोत सम्बन्धी छोटो जानकारी । अब कुरा गरौं मिचाहा प्रजातीहरुका बारेमा । यस्ता प्रजातीहरुमा वनस्पति र प्राणी दुवै पर्दछन् तर यो लेख वनस्पति प्रजातीहरुमा मात्रै केन्द्रीत छ । मिचाहा प्रजाती भन्नाले कुनै प्राकृतिक पारिस्थितिक प्रणालीमा आक्रामक ढंगले भित्रिएका नयाँ प्रजातिहरुलाई बुझिन्छ जसले नयाँ ठाउँमा छिटै नै आफ्नो आधिपत्य जमाउन सक्छन् । आइ. यु. सि.एन को सन् २००५को प्रतिवेदन अनुसार नेपालमा २१ वटा मिचाहा प्रजातिहरु स्थानीय वातावरण र जनजीविकाका निम्ति खतरनाक देखिएका छन् । उक्त प्रतिवेदनले विशेष गरि कालो बनमारा, सेतो बनमारा, लहरे बनमारा, जलकुम्भी, सनाइ फूल र बनफाँडाका कारण हाम्रो प्राकृतिक वातावरण उच्च जोखिममा रहेको बताएको छ ।
आज भोलि बढ्दो जनसंख्या, वनफडानी, तापक्रम वृद्धि, जलवायु परिवर्तन,मिचाहा प्रजातिहरुको अतिक्रमण, प्राकृतिक विपत्ति जस्ता कारणहरुले जैविक विविधता दिनप्रतिदिन ह«ास हुनथालेको छ । नेपालमा अहिलेसम्म देखिएका यस्ता प्रजातिहरु चिसो ठाउँको तुलनामा तातो ठाउँमा बढि पाइएको छ । नेपालका केही संरक्षित क्षेत्रहरुमा यस्ता प्रजातिहरुले आक्रमण गरिसकेको छ त्यसमध्ये पनि चितवन राष्ट्रिय निकुन्ज सबैभन्दा धेरै प्रभावित भएको छ । स्थानीय प्रजातिहरुसँग सजिलै प्रतिस्पर्धा गर्नसक्ने, छोटो समयमै नयाँ ठाउँमा अनुकूल हुनसक्ने, हावा र पानीको माध्यमबाट छिटै  फैलिन सक्ने, प्रजनन क्षमता जस्ता कुराहरुका कारण यस्ता प्रजातिहरु प्राकृतिक पारिस्थितिकीय प्रणालीलाई विस्थापित गरि आफू स्थापित हुन सक्छन्। यिनीहरुले वातावरण तथा मानव र पशुस्वास्थ्यमा नकारात्मक असर पार्ने कुरा अध्ययनहरुले देखाएको छ । नेपालको सन्दर्भमा अहिलेसम्म भएका अध्ययन, अनुसन्धानहरुले बनमारा, लहरेबनमारा, बनफाँडा, जलकुम्बी आदिलाई बढी खतरनाक देखाएको छ । यिनीहरु तीव्र रुपमा फैलिरहेका छन् । पर्यटकिय महत्व बोकेको पोखराको फेवाताललाई जलकुम्बीले ढाकेको छ भने विश्व सम्पदा सूचीमा सुचिकृत भएको चितवन राष्ट्रिय निकुन्जलाई लहरे बनमारा, बनफाँडा जस्ता प्रजातिहरुले ढाकेको छ ।
 झट्ट हेर्दा तीतेपाती जस्तै देखिने अर्को मिचाहा प्रजाति कैंके घाँसले स्वास प्रश्वास र छाला सम्वन्धि रोगहरु लाग्छ । कृषि योग्य जमिन, बाँझो जमिन, सडक छेउछाउ, तालतलैया सबै ठाउँमा मिचाहा प्रजातीहरु फैलिरहेका छन्।  यस्ता प्रजातिहरुको आगमनले चलिआएको प्राकृतिक प्रणालीमा खलल् पुग्ने हुँदा कृषि उत्पादनमा पनि ह«ास आउँछ जसका कारण देशको समग्र आर्थिक क्षेत्रमा पनि प्रभाव पर्न जान्छ। हरेक क्षेत्रमा यस्ता प्रजातिहरुको नकारात्मक प्रभाव परिरहेको भएपनि गहिरो ढंगले अनुसन्धान हुन सकेको छैन । जैविक विविधता सम्बन्धि अन्तरराष्ट्रिय महासन्धिमा हस्ताक्षर गरे पनि यिनीहरुलाई  नियन्त्रण, निराकरण गरि स्थानीय पारिस्थितिक प्रणालीको संरक्षण गर्ने खाल्को कुनैपनि सशक्त योजना र रणनीति सरकारले बनाउन सकेको छैन । 
Parthenium  hysterophorous 
कुनै क्षेत्रमा  मिचाहा प्रजातिकै कारण कृषि उत्पादनमा कमि  भइरहेको भए पनि स्थानीय समुदाय पर्याप्त ज्ञानको अभावले अन्योलमा छन्। त्यसैले उनीहरुलाई ज्ञान तथा सुचना दिनु आवश्यक छ । मिचाहा प्रजातिहरु तीव्र गतिमा फैलिनुको कारण विश्व तापमान वृद्धि र जलवायु परिवर्तन हो पनि भनिएको छ । के साँच्चै यसको कारण जलवायु परिवर्तन नै हो त? यी गम्भीर विषयहरुमा धेरै भन्दा धेरै अनुसन्धान हुनु जरुरी छ । यसका लागि सरकारी तथा गैर सरकारी निकाय,  अन्तरराष्ट्रिय समुदाय, अनुसन्धानदाता,सरोकारवाला, स्थानीय समुदाय आदि सबैको संयोजन र सहकार्य निश्चय पनि महत्वपूर्ण हुन्छ ।

Published in  Naya patrika  National Daily Newspaper 

Sunday, November 10, 2013

विजयीहरुको नाम खोज्दैछु

बन्धकीमा परेको मेरो जिवन
समयको गतिसँग प्रश्न गरिरहेछ
खै मेरो विश्वासको पर्खाल?
खै मेरो आस्थाको धरहरा?
पाखण्डी समाजले नर्कमा पु¥याएको मेरो जिन्दगी
म  नाङ्लोमा चामल केलाइरहँदा
पछाडीबाट लात्ती बज्रिन्छ
मेरो विश्वास, मेरो सपना, मेरो अधिकार बलात्कृत
भएको छ ।
एकैचोटी पोखिन खोज्छन् पीडा र आक्रोश
तै पनि विवश छु म ।।।
चोटका डोभहरु सुम्सुम्याउँदै मेरी छोरीले सोध्छे
आमा...............????
म भन्दैछु
छोरी तिम्री आमाको अस्तित्व गुमेको छ
कठै...मेरो अस्तित्व विवशतामै गुम्यो ।
म चुल्होमा जीवन फुक्दैछु,
घाँसका भारीहरुमा,
जुठेल्नामा  म जीवन खोज्दैछु
मेरो जीवन बिसाउने चौतारी छैन,
जीवन जिउने मोह छैन,
तैपनि
सानो प्वालबाट विश्व चिहाउदैछु ।।
ऐनामा आफ्नै तस्वीर धमिलो देखेर
म यथार्थ हाँसो हाँस्न खोज्दैछु ,
लिलाम भएका मेरा सत्य, आस्था र विश्वास
तिनैलाई टुलुटुलु हेर्दै ,
इतिहासका पानामा विजयीहरुको नाम खोज्दैछु ।।।।।

वातावरण र महिलाका केही सवालहरु

नेपालको कूल जनसंख्याको आधा भन्दा बढी हिस्सा महिलाले ओगटेका छन् तर पहुँचका हिसाबले उनीहरु पुरुष भन्दा  धेरै पछाडी छन् । विश्वका अन्य धेरै देशका महिलाहरु नेतृत्वको बागडोर सम्हाल्न सफल भइसक्दा पनि बहुसंख्यक नेपाली महिलाहरु भने चुलाचौकामा सिमित छन् , घरेलु हिंसाबाट प्रताडित बनिरहेका छन्। कहिले दाइजो नल्याएको निहुँमा त कहिले बोक्सीका नाममा शारिरिक र मानसिक यातनाको शिकार बनिरहेका छन्। महिला हक अधिकारका कुरा गर्दा घरेलु हिंसा, नागरिकता, निर्वाचन प्रणाली, समानुपातिक सहभागिता जस्ता विषयहरुले अलि प्राथमिकता पाइरहेको अवस्था छ।  बेइजिङ सम्मेलन १९९५ ले छुट्याएको बाह्र वटा क्रिटिकल क्षेत्र मध्ये महिला र वातावरण पनि एक हो।  तर महिलासँग प्रत्यक्ष जोडिएका अन्य विषयहरु जस्तै स्वास्थ्य, वातावरण लगायतका विषयहरुमा खासै बहस तथा छलफल त्यति सशक्त ढंगले हुन सकेको छैन। 

वातावरण भन्नासाथ जल, स्थल, वायु, तेज र आकाश यी पाँच तत्वलाई भुल्नुहुदैन । यी नै पञ्चतत्वको सन्तुलनमा पृथ्वी चलेको छ र पृथ्वीमा जीवन सम्भव भएको छ। वातावरण संरक्षण र संवद्र्धनमा परापूर्वकालदेखि समुदायले महत्वपूर्ण भूमिका खेल्दै आएको कुरा सर्वविदितै छ । समुदायभित्र पनि महिलाहरुको वातावरणप्रति ठूलो योगदान छ यो अर्थमा कि वातावरण संरक्षण र प्रदुषणको पहिलो प्रभाव महिलामा नै पर्छ। नेपाली समाजमा घरभित्रको काम  प्रायः महिलाले गर्नुपर्छ । दाउरा बालेर खाना पकाउने अधिकांश जनसंख्या रहको हाम्रो देशमा धुँवासँग लुकामारी गर्नुपर्ने बाध्यता पनि महिलामा नै छ । महिलाहरु शारिरीक रुपले बढी संवेदनशील हुने भएकाले सरसफाइमा बढि ध्यान दिनुपर्छ तर पर्याप्त ज्ञान र शिक्षाको अभावमा सरसफाइमा ध्यान दिन नसक्दा उनीहरु रोगको शिकार बनिरहेका छन्। हरेक दिनका क्रियाकलापमा वातावरणीय विषयहरु सँगसँगै जोडिएका हुन्छन् चाहे खानेपानी र सरसफाइमा होस् चाहे वनजंगलमा। तर अझै पनि धेरै नेपालीलाई खुला ठाउँमा दिशा गर्न हुन्न, चर्पी प्रयोग गर्नुपर्छ भनेर सिकाइरहनु परेको छ। नगरपालिकाले हात धुन सिकाउने कार्यक्रम चलाइरहेको छ। विरामी भएर अस्पताल पुगेपछि बल्ल सरसफाइको अभावको कारण भनेर थाहा हुन्छ । यस्तो दयनीय अवस्थामा वातावरणीय न्याय र पहुँच  कति टाढाको विषय  होला ?

महिला र वातावरणको बारेमा लेखिरहँदा विश्व उष्णीकरण र जलवायु परिवर्तनले महिलाहरुमा पारेको असरहरुका बारेमा पनि लेख्न जरुरी हुन्छ। किनकि जलवायु परिवर्तनको जोखिममा परेका गरिब समुदायहरुभित्र पनि महिलाहरु नै  सबै भन्दा  बढि प्रभावित हुन्छन्। तापक्रममा आइरहेको परिवर्तन, लामोसमयको खडेरी, नियमित वर्षामा गडबढी जस्ता कारणहरुले जनजीविकामा परिरहेको प्रभाव हामीले प्रत्यक्ष देखेभोगेका नै छौं । लैंगिक आधारमा कुरा गर्दा जलवायु परिवर्तनको असर महिला र पुरुष दुवैमा पर्ने भए पनि घरपरिवार र कृषि क्षेत्रमा अनिवार्य भूमिकाका कारण महिलाहरुले  पुरुषको  दाँजोमा बढि जोखिम वहन गरिरहेका छन् । जलवायुजन्य विपद्हरुमा पुरुषको तुलनामा महिलाहरु नै बढि मृत्युको शिकार बन्छन् भने विपद पछिको समयमा पनि उनीहरु असुरक्षित हुन्छन् । बाढीले घर डुबानमा परेको हुन्छ , पहिरोले सबै बगाएको हुन्छ तैपनि परिवारलाई पकाएर ख्वाउने जिम्मेवारी महिलालाई नै हुन्छ । यो हाम्रो तीतो सत्य हो ।
औद्योगिक र प्रदुषक राष्ट्रहरुले वायुमण्डलमा उत्सर्जन गरेको हरित गृह ग्यासको मार हामीजस्ता अति कम विकसित राष्ट्रहरुले भोगिरहेका छौं ।जलवायु परिवर्तनको असर भोगिरहेका मुलुकहरुको सुचीमा नेपाल चांैथो स्थानमा दर्ज छ। राजनैतिक खिचातानीको दलदलमा फसेर विकासको गति लगभग ठप्प भएको हाम्रो देशमा मौलाइरहेको भष्ट्राचार र चरम गरीबीका बीच जलवायु परिवर्तनले निम्त्याइरहेका समस्याहरु कम गम्भिर छैनन्। राष्ट्रिय अनुकुलन कार्यक्रम (नापा)लाई आधार मान्ने हो भने जलवायु परिवर्तनले सबैभन्दा धेरै जोखिममा परेका जिल्लाहरुमा काठमाडौं, रामेछाप, उदयपुर, लमजुङ, मुगु लगायतका जिल्लाहरु अग्रपंतिmमा छन्। रामेछाप, काभ्रे लगायतका जिल्लाहरुमा खानेपानीको चरम अभाव हुन थालेका घटनाहरु कहिले समाचारका रुपमा त कहिले डकुमेन्ट्रीका रुपमा सञ्चार माध्यमबाट बाहिर आउन थालेका छन्। काठमाडौंमा खानेपानीको अवस्था कति दयनीय छ भनेर त पानी थाप्ने मान्छेहरुको लाइन देखेर सजिलै बुझ्न सकिन्छ । चाहे शहरमा होस्, चाहे गाउँमा पानीको अभावको पहिलो शिकार महिलाहरु नै बन्छन् । किनकि घरभित्रको सबै काम गर्ने जिम्मेवारी उनीहरुलाई हुन्छ । वनक्षेत्रको विनाश, अनियमित वर्षा, लामो समयसम्मको खडेरी जस्ता कारणहरुले पानीका मूल सुक्दै जादैछन् , भूमिगत जलश्रोत घटिरहेको छ, कुवा, इनार, ढुंगे धारामा पानी सुक्दै गएका छन्।  हिजोसम्म घरै अगाडिबाट पानी थाप्न सकिन्थ्यो अब पानीका लागि घन्टौं हिड्नुपर्ने, टाढा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता हुन थालेको छ । पानी भएर मात्र हुन्न, शुद्ध र सुरक्षित पानी भएन भने समस्या त्यहींबाट शुरु हुन्छ । त्यसैले आफू र आफ्नो परिवारका लागि सुरक्षित पानी खोज्दा महिलाहरुको स्वास्थ्य जोखिममा परिरहेको छ । टाढा टाढाबाट पानी र दाउराको भारी बोक्नु पर्दा गर्भवति महिलाहरु झन् बढि समस्या भोगिरहेका छन् ।

वर्ष भरि खेति गरेर चार महिना  खान पुग्ने खाद्यान्न पनि उत्पादन नहुने नेपाली खेति प्रणालीलाई जलवायु परिवर्तनले सबैभन्दा धेरै असर पारेको छ । मनसुनी वर्षामा निर्भर हाम्रो खेतिप्रणालीमा कहिले खडेरी, कहिले अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिले प्रभाव पारिरहेको छ। कहिले लामो समयको खडेरीले सिंचाईको अभावमा उत्पादन घट्छ त कहिले मुसलधारे वर्षा हुँदा बाढी र पहिरोले थुप्रै खेतियोग्य जमिन बालुवामा परिणत गरिदिन्छ । यसै त आफ्नो उत्पादनले खान पुग्दैन,त्यही माथि यस्ता खाल्का विपद्हरुले खाद्य उत्पादनमा कमि ल्याउन प्रत्यक्ष परोक्ष भुमिका खेलिरहेका छन्।

 परिवारका सबै सदस्यहरुले खाइसकेपछि महिलाहरु अन्तिममा खाना खाने नेपाली परम्परा रहिआएको छ। परिवार र बालबच्चाको स्वास्थ्यमा ध्यान दिंदादिंदै आफ्नो लागि आवश्यक क्यालोरीको मात्रा उनीहरुलाई पुगिरहेको हुदैन। पर्याप्त आहार नपुगेर कमजोर बनेका  गर्भवति र सुत्केरी महिलाहरु खाद्य अभावका बेला कुपोषणको पहिलो शिकार बन्छन्। सुत्केरी महिलालाई पर्याप्त  आहार पुगेन भने त्यसको प्रत्यक्ष प्रभाव बच्चामा पर्छ  र कुपोषणका कारण बच्चाको शारिरिक र मानसिक विकास राम्रोसँग हुदैन।  तापक्रम वृद्धिले गर्दा फैलिएका लामखुट्टेका कारण लाग्ने डेङ्गु, जापानिज इन्सेफलाइटिस, मलेरिया जस्ता रोगहरुले पनि कमजोर र कुपोषितहरुलाई नै गाँजिरहेको हुन्छ।  सुरक्षित पानी, चर्पीको अभाव, सरसफाइको कमि जस्ता कारणहरुले फैलिने सरुवा रोगहरुको महामारीमा पनि महिला र बालबालिकाहरु नै परिरहेका हुन्छन्। यतिमात्र होइन जलवायु जन्य प्रकोपका कारण मानिसहरु विस्थापित हुनुपरेको र आन्तरिक द्धन्दमा फसेका उदाहरणहरु बढ्न थालेका छन्। समग्रमा हेर्दा जलवायु परिवर्तनबाट हुन सक्ने प्रकोपको प्रत्यक्ष र पहिलो प्रभाव महिला माथि नै पर्छ। 

नेपालका केही आदिवासी जनजाती समुदायभित्र महिलाहरुको पहुँच राम्रो छ। उनीहरु निर्णायक तहमा पनि सहभागि हुन्छन् । तर समग्र नेपाली महिलाहरुको अवस्था त्यस्तो छैन। वातावरणसँग जोडेर कुरा गर्ने हो भने महिलाको देन वातावरणमा धेरै छ तर त्यसलाई ध्यान दिएर विश्लेषण गरिएको छैन। जो गरिब छ, जोसँग क्षमता छैन, पहुँचका हिसाबले टाढा छ, उसलाई नै जलवायु परिवर्तनले धेरै असर गरिरहेको हुन्छ। तर तिनीहरुका सवाललाई निर्णायक तहमा त्यति चासो राखेको पाइदैन। जलवायु परिवर्तनसँग गाँसिएका विभिन्न मुद्दाहरु जस्तै– अनुकुलनका कार्यक्रमहरु, रेड प्लसका कार्यक्रमहरु महिलाहरुको सशक्त सहभागिता बिना उपलब्धीमूलक बन्न सक्दैनन्। 

जलवायु परिवर्तनको प्रभाव कम गर्न अनुकुलन र न्युनीकरणका नाममा विदेशी दाताहरुले गरेको आर्थिक सहयोग र सरकार आफैंले तयार गरेका कार्यक्रमहरु प्रभावित समुदायहरुसम्म पुगेको छ कि छैन? कतै राजधानीका महँगा होटलहरुमा गरिने गोष्ठि र सेमिनारमै पो सिमित भइरहेको छ कि?शव्दमा जति नै राम्रराम्रा कार्यक्रमहरु बनाए पनि व्यवहारमा लागू नभएसम्म तिनको महत्व केही हुन्न।

आधुनिकिकरण भनेर जति चिच्याए पनि  धनी र गरिब बिचको खाडल घट्नुको साटो झन् बढिरहेको छ ।प्राकृतिक श्रोतमाथि पहँचवालाहरुले जबरजस्ती हस्तक्षेप गरिरहेका छन्। भूमिको दिगो व्यवस्थापन हुन सकिरहेको छैन। त्यसमा पनि जमिनमाथि महिलाहरुको अधिकार एकदमै न्यून छ । जबसम्म महिलालाई दोश्रो दर्जामा राखेर व्यवहार गरिन्छ, उनीहरुलाई आर्थिक अधिकारबाट बञ्चित गराइन्छ तबसम्म देश प्रगतिको बाटोमा जान सक्दैन। भनिन्छ, शिक्षित र सचेत महिला भएको घरमा सबै शिक्षित हुन्छन्। यदि महिलाले वातावरण संरक्षण सम्बन्धि उचित शिक्षा पाउने हो भने प्रत्येक घरमा चेतनाको लहर फैलाउन सकिन्छ। त्यसैले महिलाको क्षमता विकासमा जोड दिने खाल्का कार्यक्रमहरु गाउँगाउँसम्म पु¥याउनुपर्छ। आर्थिक, सामाजिक र राजनैतिक अधिकारबाट उनीहरुलाई टाढा राखिनुहुदैन। स्थानीय तहमा मात्रै होइन राज्यको निर्णायक तहमा महिलाहरुको सशक्त सहभागिता हुन सकेमा निश्चय पनि स्वच्छ र समृद्ध देश बनाउन सकिन्छ ।
    Luna
October, 2012

धुलो, धुँवा र राजधानी

दिनभरी पेट्रोलको लाइनमा बसेर आफ्नो गाडीमा तेल भर्नु, खानेपानीका लागि घन्टौं समय कुर्नु आजकल अधिकांशको बाध्यता बन्दैछ । हामीसँग खनिज इन्धनको स्रोत छैन, त्यसैले आयातित इन्धनमा भर परिरहेका छौं ।  पेट्रोलियम पदार्थको आयातमा नेपालको खरबौं रकम बाहिरिरहेको सबैलाई थाहा छ । जसले गर्दा देश आर्थिक समृद्धिको बाटोमा हिड्न पनि सकिरहेको छैन र सवारी साधनको बढ्दो चापले गर्दा पेट्रोलियम पदार्थको माग पूरा गर्न आयल निगमलाई हम्मेहम्मे परिरहेको छ । बढ्दो जनसंख्या, योजना बिहिन शहरीकरण, उच्च गरीबी, असन्तुलित विकास र प्रदुषित वातावरण बिचको ज्वलन्त उदाहरण बन्दैछ नेपाल ।

हामीले प्राथमिकतामा राख्न नसकिरहेको विषय–हाम्रो वातावरण र यसमा भइरहेको प्रदुषणका बारे कुरा गर्नुपर्दा हावा, पानी, माटो सबै दुषित बन्दैछन् । अझ सडकमा कानै फुट्लाझैं गरि बज्ने अनावश्यक हर्नले पिडित नबनेका सायदै कोही होलान् । औद्योगिक विकासका नाममा बनाइएका विभिन्न उद्योग–कलकारखाना, इटाभट्टा र योजना बिहिन शहरीकरणसँगै व्यापक संख्यामा भित्रिएका सवारीसाधनहरुबाट निस्किने धुँवाले वायुमण्डललाई प्रदुषित बनाइरहेको छ । आर्थिक वर्ष २०६६÷६७ सम्ममा नेपालमा १०,१५,२७१ सवारी साधन दर्ता भइसकेका छन् भने बाग्मती अञ्चलमा मात्र हालसम्म लगभग ५ लाख ५० हजार भन्दा ज्यादा मोटरसाइकल दर्ता भएका छन् । धेरैजसो ठाउँमा राम्रोसँग पिच नगरिएका र भत्किएका सडकहरु भएकाले गाडीले फाल्ने धुँवा र सडकको धुलो मिसिएर वायुमण्डल झन् दुषित बन्दैछ । जसले गर्दा पटक पटक काठमाडौंले प्रदुषित शहरको तक्मा भिरिरहेको छ । काठमाडौंमा जताततै थुपारिने फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा त्यहाँबाट उत्सर्जन हुने ग्याँस, सवारीजन्य र औद्योगिक प्रदुषण आदिले उपत्यकाको वायुमण्डललाई असन्तुिलत बनाउन ठुलो भुमिका खेलिरहेको छ ।  धेरैले खासै ध्यान नदिएको तर अर्को गम्भीर विषय भनेको आन्दोलनका नाममा सडकमा बालिने टायर पनि हो । टायर बाल्दा निस्किने ग्याँसले मानिसलाई क्यान्सर सम्म हुन सक्छ । आफ्ना मागहरु पुरा गराउनका लागि गरिने यस्ता खाल्का आन्दोलनहरुले हाम्रो ब्यवाहार र वातावरण दुबैलाई दुषित बनाउदै छ । र मान्छे स्वयं पनि आफ्नो कुकृत्यको  शिकार बनिरहेको हुन्छ । 

वायुप्रदुषण मात्रै होइन जल, माटो र ध्वनी प्रदुषणले पनि हामी अवाक् भइसकेका छौं । पानी हाम्रो लागि अत्यावश्यक चिज हो भन्ने कुरामा कुनै दुविधा छैन । पानी बिनाको संसार हामी कल्पना गर्न पनि सक्दैनौ । तर जनसंख्याको बढ्दो चाप, खाद्यान्नको बढ्दो माग र जलवायु परिवर्तन जस्ता कारणहरुले पानीको समस्या दिनप्रतिदिन बढ्दैछ । नेपालका धेरै ठाउँहरुमा पानीका श्रोतहरु सुक्दैछन् भन्ने समाचारहरु हामीले सुनिरहेका छौं । भुमिगत पानीको अत्याधिक प्रयोगले काठमाडौका ढुंगेधाराहरु सुक्दैछन्, संकृतिका धरोहर ति ढुङ्गे धाराहरु बेकामका बन्दैछन् । यतिमात्र होइन हाम्रो सभ्यताको शान बागमति आफैं ढलको रुपमा बगिरहेको छ । पानीका श्रोत वरपर फोहोर गर्न हुन्न भन्ने हाम्रो मान्यता र संस्कारलाई पाखा लगाएर सभ्य भनाउँदाहरुले सभ्यताको स्रोतलाई ढलमति बनाएर आफु सुकिला मुकिला बनि हिड्छन् । बागमति अहिले धेरैका लागि मागिखाने भाँडो बनेको छ  । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सन् २००१ देखि सन् २०११ सम्म काठमाडौको  भूमिगत जलश्रोतको अध्ययन गर्दा ८२ प्रतिशत पानीमा सुक्ष्म जीवाणु भेटिएको तथ्यांक निकालेको छ । यो तथ्यांकबाट हामीले पिउने पानीको गुणस्तर सजिलै बुझ्न सकिन्छ छ । उद्योग, कलकारखानाबाट निस्किने फोहोर, कृषिजन्य फोहोर, अस्पतालजन्य फोहोर सबै अन्तत खोलामै मिसिरहेको छ । खाद्यान्न उत्पादन बढाउन प्रयोग गरिने विषादिले माटोको गुणस्तरलाई कस्तो बनाइरहेको होला ? के हामीले त्यतातिर सोचेका छौं ? विषादी प्रयोग गरेर उत्पादन गरिएका खाद्यान्नले हाम्रो स्वास्थ्यमा के कस्ता समस्याहरु देखिदैछन् भनेर कहिले बिचार गरेका छौं ? स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक प्रत्येक नागरिकलाई हुन्छ भने वातावरणलाई स्वच्छ राख्ने दायित्व पनि त प्रत्येक नागरिकमा हुनुपर्छ ।  नेपालमा झाडापखालाबाट वर्षेनी १३ हजार बालबालिकाको मृत्यु हुन्छ । खानेपानी र सरसफाईमा गरिने लगानीले के कति उपलब्धी भएको छ त ? यस्ता कुराहरु खोज्न पनि हामीले जाँगर देखाउनु जरुरी छ  ।

बढ्दो प्रदुषण, वनविनास, जैविक विविधतामा ह्रास, जलवायु परिवर्तन जस्ता समस्याहरु विश्वमा नै प्रमुख वातावरणीय समस्या बनेका छन् । नेपालको सन्दर्भमा हेर्दा फोहोरमैलाको दिगो व्यवस्थापनमा ढिलाइ भइरहने हो भने रोगको महामारी नफैलिएला भन्न सकिन्न । हामीले दुर्गन्धित र प्रदुषित शहर पायौं किनकी बागमति प्रदुषित बनायौं ।  सडक अस्तव्यस्त भयो, जंगल मासियो । यी सबै क्षेत्रलाई सुधार्ने महत्वपुर्ण जिम्मेवारी अब हाम्रो पुस्तालाई छ । के हामी सक्षम छौं ?

सामान्यतया हामी युवाहरुको जमघट नेता, तिनका कार्यकर्ता र कर्मचारीलाई गाली गर्दैमा बित्छ । त्यसको साट्टो फरक धारबाट सोच्दा नेपालको  विकासलाई प्रभाव पर्ने तत्व  मध्ये एक  तेलका लागि बाहिरीने पैसा हो । त्यो पैसा रोक्ने हो भने नेपालको ब्यापार घाटा त कम हुन्छ नै हामी स्वयं पनि हाम्रो विकासका लागि सक्षम हुन्छौं । नेपालमा खपत हुने तेलको अधिकांस हिस्सा बाग्मती अञ्चलमा र झन् पेट्रोल त अधिकांश ५ लाख मोटरसाइकलहरुले मात्र सक्छन् । दैनिक रुपमा ७५० एम.एल.का दरले तेल खर्च गर्दा पनि ५ लाख मोटर साइकलमा ३ लाख ७५ हजार लिटर भन्दा ज्यादा तेल खर्च हुन्छ । यदि हामीले विद्युतिय सवारी साधन अझ त्यसमा पनि विद्युतबाट चल्ने मेट्रो रेल संचालन गर्न सक्ने हो भने बल्ल नेपाल हरित अर्थतन्त्रको बाटोमा हिड्न सक्छ, तबमात्रै विकास हुनसक्छ । हप्तामा एक दिन मात्र साइकल चढ्ने हो भने पनि राज्यको केही हिस्सा रकम बचत हुन्छ । हामीले विश्वको नक्कल गर्न त सिक्यांै  तर माटो सुहाउँदो बिकासका बारेमा ध्यान दिन सकेनौं। हामीले हरेक क्षेत्रमा आफ्नै देशभित्र सम्भावना खोज्न र सम्भावनालाई चिन्नसकेनौं । खनिज इन्धन आयात गरेर सवारीसाधन  चलाउने हाम्रो देशले भोलि पृथ्वीमा खनिज इन्धन  सकिए पछाडी के गर्छ ? अहिले नै पेट्रोलियम पदार्थको विकल्प नखोज्ने हो भने यी सवारीसाधन भोलि के ले चलाउने ? जलस्रोतमा धनी देश भनेर जति भाषण गरेपनि व्यवहारमा हामी अँध्यारोमा बसिरहेका छौं । विद्युत उत्पादनमा जोड नदिने हो भने अँध्यारोमा बसेर जति नै कराए पनि देश प्रगतितिर लम्किन सक्दैन।  

साइकलको कुरा गर्दा काठमाडौको सडकमा साइकल यात्राको लागि सुरक्षित बाटो छैन, साइकल पार्किङ गर्ने ठाउँ छैन । पैदल यात्री र साइकल यात्रीको सुरक्षाको बारेमा राज्य लगभग मौन छ । सुरक्षाकै हिसाबले चाहेर पनि साइकल नचढ्ने जमात ठुलो छ। सरकार हाल २०६९।०७० को बजेट ल्याउने तयारीमा छ । यस समयमा सम्बन्धित निकायले ध्यान दिन सकेमा उपत्यकामा मात्रै होइन देशभरि नै साइकल लेन र साइकल स्टप  बनाउने हो भने पनि केही हदसम्म सडक व्यवस्थित हुन्छ साथै वातावरण पनि  जोगिन्छ । दिगोविकासका लागि हरित अर्थतन्त्र भनेपनि यो विषयमा खासै बहस हुन सकेको छैन । यसवर्षको वजेटले यसलाई सम्बोधन गर्न सक्ने विश्वास गर्न सकिने अवस्था पनि छैन । जनताको स्वास्थ्य र गरिवको रकम बचाउँने हो भने राज्यले वातावरणलाई स्वस्थ र स्वच्छ राख्ने खाल्का सशक्त कार्यक्रमहरु ल्याउनुपर्छ  । यी कुरालाई बिचार गरेर जन स्तरबाट पनि आफसेआफ अभियान सञ्चालन गरेमा देशको अर्थतन्त्र जोगाउन सकिन्छ । स्वच्छ उर्जा प्रयोग गरेर र वन संरक्षण गरेर कार्बन संचित गरेबापत धनी देशहरुले  हामी जस्ता अतिकम विकसित देशहरुलाई रकम पनि दिन्छन् । स्थानीय तहबाट हामीले चालेका साना कदमहरुले  राष्ट्रिय, अन्तरराष्ट्रिय तहमा अरुलाई जिम्मेवार बन्न प्रेरणा दिनसक्छ । हामी वातावरण मैत्री, पर्यावरण मैत्री बन्दै हरित प्रविधि तिर लम्किन सक्यौं भने हामीबाट अरुले पनि सिक्नेछन् कि वातावरण  हामी सबैको साझा सम्पत्ति हो, यसको संरक्षण गर्ने दायित्व पनि हामी सबैको हो। 
Luna Khatiwada
Published in  Naya Patrika National Daily Newspaper

Saturday, November 9, 2013

अन्नपुर्ण बेसक्याम्प पदयात्रा

अन्नपुर्ण संरक्षण क्षेत्रभित्र अवस्थित अन्नपुर्ण बेस क्याम्पसम्मको  पदयात्राका लागि हामी २०६९ असोज १४ गते विहान काठमाडौंबाट हिड्यौं ।  काठमाडौंबाट हिडेको दिन पोखरा बस्ने कार्यक्रम थियो ।  पोखरा बसाइलाई केही उपलब्धीमूलक बनाउने भनेर रुपाताल तिर हान्नियौं । जलवायु परिवर्तन ले पारेका असरहरु र ती असरहरुसंग जुध्न पर्यटकिय नगरी पोखराको रुपाताल वरिपरिका स्थानीयबासीहरुले के गरिरहेका छन् भन्ने कुराको सानो अध्ययन गर्नु हाम्रो उद्देश्य थियो ।  रुपातालमा भइरहेको  प्रदुषणलाई कम गर्न  २०५८ सालमा मत्स्यपालन सहकारी खोलेर काम शुरु गरेका स्थानीयहरुले अहिले तालमा  व्यवसायिक रुपमा विभिन्न किसिमका माछा पालेका छन् । माछापालनसँगै एकातिर कमल फूल संरक्षण गरिएको छ भने अर्को तिर नाभो धान पनि संरक्षण गरिएको छ । तालको नजिकै रहेको सहकारीको कार्यालयमा रहेका केही व्यक्तिहरुसँग हामीले कुराकानी गर्यौं । उनीहरुले जलवायु परिवर्तनलाई केही बुझेका तर अनुकुलनका उपायहरुमा त्यति सचेत नभएको पाइयो । तर जैविक विविधता संरक्षणमा उनीहरुको योगदानलाई भने मान्नैपर्छ । 

भोलिपल्ट बिहानै हामी पोखराबाट नयाँपुलतिर लाग्यौं । अन्नपुर्ण संरक्षण क्षेत्रभित्र  हाम्रो पदयात्रा शुरु हुदैथियो,  सबैजना उत्सुक थिए, सबैलाई हतारो थियो किनकि प्राय सबै जसोको पहिलो पदयात्रा थियो । गाडीमा गीत गाउँदै, रमाइरहेका सबैजना नयाँपुलमा रोकिएर खाना खाने तरखरमा लाग्यौं ।  अब हाम्रो पैदल यात्रा शुरु हुने भयो, नयाँपुलबाट घान्द्रुक पुग्ने लक्ष्य थियो त्यो दिनको । विदेशी पर्यटकहरु, सबैका हातमा लौरो, तिनका भरियाहरु, गाइडहरु ओहो नयाँपुलका होटलवालाहरुलाई भ्याइ नभ्याइ थियो । हामी १४ जनाको टिम थियौं, हाम्रा भरिया थिएनन्, बाटो देखाउने गाइड थिएनन्, ती सबै हामी आफैं थियौं । हामीसँग आत्मविश्वास थियो , अन्नपुर्ण बेसक्याम्प पुगेर फर्किने ।  मध्य दिउँसो १२ बजेबाट हाम्रो पदयात्रा शुरु भयो । स्याउली बजार सम्म ग्रामिण सडक त्यसपछि किम्चि हुँदै उकालो सिंडी पार गरेर साँझ  करिब २०२० मिटरको उचाइमा रहेको रमणिय गाउँ घान्द्रुक पुग्दा सबैजनाको अनुहारमा खुसीको चमक देखिन्थ्यो । आफ्नै विशेषता बोकेको घान्द्रुक पुग्ने रहर पोहोर साल अधुरो भएको थियो । यसपाली भने हामी पुगेरै छाड्यौं ।  गुरुङ्ग बस्ती रहेको घान्द्रुकमा त्यो साँझ खाना खाएर आराम गर्यौं । भोलिपल्ट बिहान उठ्नेबित्तिकै माछापुच्छ्रे हिमालको दृश्य देखेर मोहित भएका हामी त्यही दृश्य पछ्याउँदै अगाडि बढ्यौं । बाटोमा जुका धेरै थिए, साथीहरु जुका देख्नासाथ चिच्याउँथे । त्यो बेला म भने आफ्नो बाल्यकालमा आमासँग जंगल जाँदा जुकाले थाहै नपाइ टोकिसकेको कुराहरु सम्झेर मनमनै हाँसिरहेको हुन्थें । जे होस् जुका थेरापी भने मज्जाले नै भयो । बाटोमा जम्काभेट हुनासाथ  नमस्ते  भन्न नभुल्ने विदेशी पर्यटकहरु र तिनका भरियाहरुले बाटो खचाखच हुन्थ्यो । प्रायः  विदेशी पर्यटकहरुको आवागमन  बढि हुने समय नेपालीहरुलाई होटेल पाउन गारो हुने रहेछ । केही साथीहरु होटेलको बन्दोबस्त गर्न अगाडि जान्थे । घान्द्रुकबाट हिडेको दिन दिउँसो छोम्रोङ्ग मा खाना खाएर साँझ सिनुवामा बास बस्यौं । बाटोमा पानी पर्यो, हामीसँग वर्षादी थियो, कुहिरोले ढपक्क छोपेको गाउँ, छोम्रोङ्गबाट ओरालो झर्ने अनि खोला तरेपछि फेरी उकालो चढ्नुपर्ने, हामीलाई आफ्नो झोला निकै ठूलो भारी हुन थालेको थियो । झोला बोकेर, वर्षादी ओढेर, बाटोमा चिप्लिएर लड्दै हिड्नुको मजा नै बेग्लै थियो ।  सिनुवासम्म पुग्दा चिसो निकै बढिसकेको थियो । त्यही भएर होला सायद त्यहाँ पिएको चियाको याद अझै ताजै छ । 

सिनुवाबाट उकालो लागेपछि भने बस्तीहरु देखिन छाडे । तीन ÷चार घण्टाको फरकमा होटलहरु मात्र भेटिने । माथितिर धेरै चिसो छ, होटल पाउन गारो छ जस्ता समस्याहरु सुनाउँथे, माथिबाट फर्केकाहरु । तर हामीमा साहस थियो, त्यो भन्दा धेरै इच्छाशक्ति , हामी हतोत्साहित भएनौं । बेम्बो, दोभान र हिमालय भन्ने ठाउँहरु पार गरेर हामी देउराली पुग्यौं । बाटोमा ठाउँ ठाउँमा भेटिने पानीका धाराहरुले यात्रुहरुलाई धेरै सजिलो भएको छ । फोहोर फाल्ने बिनहरुले फोहोर व्यवस्थापनको उदाहरण प्रस्तुत गरेको छ  । सिनुवासम्म खच्चरमा सामान ओसारपसार गर्दारहेछन्, बाटो भरि खच्चरको दिशा गन्हाउँथ्यो । बाटो अप्ठ्यारो भएर होला  त्यहाँ भन्दा माथि हामीले खच्चर देखेनौं । मानिसहरु डोकोमा ग्यासको सिलिन्डर बोकेर हिंडिरहेका भेटिन्थे ।  जति उकालो चढ्यो त्यति नै प्राकृतिक सौन्दर्यका अनुपम दृश्यहरुले मन आनन्दित हुन्थ्यो । दोभानबाट उकालो लागे देखि नै हामीले पहाड फोरेर कलकल बगेका झरनाहरु देख्यौं । साँझ हामी देउरालीको सांग्रिला होटेलमा बस्यौं । नजिकै मोदी खोला अविचलित बगिरहेको थियो । वरीपरी अग्ला अग्ला पहाड अनि पहाडका विचमा सुन्दर झरना । झरनाको पानी सबैभन्दा मिठो हुन्छ भन्ने सुनेकी थिएँ , त्यो बेला बीचमा पुल भइदिए, म दौडदै पारी गएर झरनाको पानी पिएर आउँथे भन्ने लागेको थियो ।

प्रकृतिमा भएका असिमित आनन्दका  दृश्यहरु चुम्दै हामी उकालो जादैथियौं । होटलहरु पर्यटकले भरिभराउ थिए । बाध्यता थियो, हामी १४ जना एउटै कोठामा बस्यौं । बेलुका होटलका मालिकसँग फोहोरमैला व्यवस्थापनका बारेमा जिज्ञासा राखेँ। अन्नपुर्ण बेसक्याम्प देखिको फोहोर संकलन गरेर घान्द्रुक पुर्याउँदा रहेछन्, त्यहाँबाट पुनः प्रशोधन हुने फोहोर पोखरा पठाउँदा रहेछन् । अन्नपुर्ण संरक्षण क्षेत्र नेपालकै पहिलो र ठूलो संरक्षित क्षेत्र हो । संरक्षण क्षेत्रको आफ्नै नियम , कानुन हुन्छ । दाउरा बाल्न नपाइने भएकाले त्यहाँका होटेलहरुमा एल पि ग्यास प्रयोग गर्छन् । तर बनमा दाउरा त्यसै खेर गइरहेको देख्दा भने संरक्षण क्षेत्र जनमुखी छैन भनेर चर्चा भएका कुराहरु सम्झिएँ मैले ।  स्थानीय स्तरमै पानीको सदुपयोग गरेर विजुली बालेका छन् ।  दिनभरि बति बालिरहने, पानीका धाराहरु बन्द नगर्ने जस्ता दृश्यहरुले   काठमाडौको लोडसेडिङ र पानीको समस्या सम्झेर दिक्क लाग्थ्यो । हामी संचारबाट टाढिएका थियौं।  आफ्नै गृहजिल्ला इलाममा विध्वंस पहिरो गएको खबर पनि मैले दुइ दिन पछि मात्र थाहा पाएको थिएँ । 

देउरालीबाट लगभग ३ घण्टा कस्सिएर हिड्ने हो भने अन्नपुर्ण बेसक्याम्प पुगिन्छ । सबै थकानहरु बिर्सेर फेरी हामी उकालो लाग्यौं । लेक लाग्लाकि भन्ने डर थियो मनमा। हामीले हिड्ने बेला सबैजनालाई ल्वाङ्ग, सुकमेल, लसुन बाड्यौं । नजिकै बगिरहेको मोदी खोलाबाट आएको चिसो हावाको झाेंक्का, चुच्चा पहाडहरु, बाटो छेउछाउ फुलेका रंगिचंगि फूलहरु ,त्यो मनमोहक दृश्यलाई शव्दमा उतार्ने शव्द भण्डार छैन मसँग । 
३७०० मिटर उचाइमा माछापुच्छ«े बेसक्याम्प रहेछ । पारी पट्टि माछापुच्छ«े हिमाल आफ्नो सुन्दरता प्रकट गरेर मुस्कुराइरहे झैं लाग्छ , अनि म जस्ता धेरैलाई पश्चाताप बोध हुन्छ, माछापुच्छ«े हिमालको सामिप्यमा गएर एकचोटि छुने रहर अधुरो रहेकोमा । माछापुच्छ«े बेसक्याम्पबाट हिमालयन थार पनि देखिन्छ रे तर हामीले भने देख्न पाएनौं । केही अगाडि बढेपछि करिब ४१०० मिटरमा रहेको अन्नपुर्ण बेसक्याम्प पुग्यौं । वारीपारी जता हेरे पनि हिमाल देखिने, मन त्यसै फुरुङ्ग भयो, शरीरमा यस्तो स्फूर्ती आयो कि अब ४८०० मिटर पार गर्न पाए त  सगरमाथाको चुचुरो नै पुगिन्छ । हाम्रा हिमालहरु नजिकबाट हेर्न पाउँदा, हिउँ पग्लिएर पानी बगेको देख्दा हिमालहरु एसिया क्षेत्रका निम्ति कति महत्वपुर्ण छ भन्ने कुराको बोध भयो । सँगसंगै जलवायु परिवर्तनका कारण हिमाल पग्लदैछन् भन्ने तथ्यले कता कता मनमा  नमिठो आभास भयो ।  विदेशी पर्यटकलाई सोध्यौं किन आउनुहुन्छ यहाँसम्म, यति दुख गरेर ? उनीहरु भन्थे यति राम्रो, मनमोहक ठाउँ, यति उचाइ, यस्तो विविधता हाम्रो देशमा छैन । साँच्चै गर्व लाग्दो रहेछ त्यो बेला नेपाली हुँ भन्नलाई । विदेशी पर्यटकहरु बिरामी भए, लडेर घाइते भए भने उनीहरुको उद्धार तुरुन्तै हुन्छ, तर हामी बिरामी भयौं भने ? हाम्रो उद्धार हुन कठिन छ किन कि हामी नेपालीको त जिवन विमा नै छैन ।  


अन्नपुर्ण बेस क्याम्प पुग्ने हाम्रो लक्ष्य पुरा भयो अब हामी फर्कने तयारीमा लाग्यौं ।  बाटोमा स्थानीयलाई सोधें यो कुन गाविस हो ? अन्नपुर्ण बेस क्याम्प सम्म घान्द्रुक गाविसले समेट्छ भन्ने थाहा पाउँदा एकछिन अचम्म लाग्यो कति ठूलो गाविस ? माथि तिर देखिएका रमणिय ठाउँ र दृश्यहरु छोडेर हामी फर्कियौं । बाटोमा सोचें , हामी घुम्न आउनेका लागि यो ठाउँ यति रमाइलो लाग्छ तर यहीँ जीवन बिताउनेहरुका लागि कम कष्टप्रद छैन । उच्च पहाडी र हिमाली भेगका मानिसहरुको जिवन एकदम कठिन छ । बर्ष भरि दुख गरेपनि खान पुग्दैन । त्यही भएर स्थानीयबासीहरु परम्परागत कृषि पेशा भन्दा पनि होटेल व्यवसाय तिर आकर्षित छन् ।  पर्यटन प्रवद्र्धन उचित ढंगले गर्न सके अन्नपुर्ण संरक्षण क्षेत्रबाट राज्यले पनि धेरै फाइदा लिन सक्छ । संरक्षण विना पर्यटन दिगो हुदैन त्यसैले यसको व्यवस्थापन र संरक्षण पक्षमा ध्यान दिदै विकासका खाका तयार गर्नुपर्छ  भन्ने लाग्यो ।


बाबुको गन्थन

    मावल कहिले आउने भनेर फोन गर्दै पिच्छे सोध्नुहुन्छ हजुरबाले । मेरो मावलको हजुरबुवाको नाम होम हो घरको हजुरबुवा चैं रामचन्द्र । मामुले...